दाँत सिरिङ–सिरिङ किन हुन्छ ?
दाँत सिरिङ–सिरिङ किन हुन्छ ?
हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग जन्माउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ । दाँत सिरिङ–सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ ।
दाँत सिरिङ–सिरिङ किन हुन्छ ?
- अम्लीय पेय पदार्थ दिनभरि पिउनेहरू, जस्तै– कोल्ड ड्रिंक्स ।
- ब्याट्री, प्लेटिङ, दर्जी, सिकर्मी, जुत्ता बनाउने, धुलोमा रोजगारी तथा काम गर्ने ।
- दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बबी पिन दाँतले खोल्ने बानी, माटो खाने बानी भएका ।
- धेरै कडा ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत तरिकाले ब्रस गर्ने ।
- बुढ्यौली उमेरका ।
- गिजा तथा पेरियोडोन्सियमको उपचार गरिएका बिरामी ।
- अमिलो डकार्ने व्यक्ति ।
- थुक वा र्याल कम आउने ।
- धेरै मात्रामा तथा लामो समयसम्म मुखमा राखी अम्लीय खाद्य पदार्थ कागती, अंगुर खानेहरू ।
२५ देखि ४५ वर्ष उमेर समूहमा, पुरुषभन्दा महिलामा बढी देखिने यो समस्या कुकुर र प्रिमोलार दाँत, गालातिरको दाँतको घाँटी क्षेत्रमा र चल्ने, ब्रस गर्ने हातको उल्टोतिर जस्तै दाहिने हात बढी चल्ने भए देब्रेतिरका दाँतमा बढी देखिन्छ । दाँतको घाँटी क्षेत्रमा बाहिरी पत्र अति नै पातलो हुने दन्त लेउ, दन्त पत्थर तथा फोहोर कुरा यसैमा टाँसिने तथा सफा गर्दा हटाइने भएकाले पनि दाँत र गिजाको भेट हुने स्थान वा दाँतको घाँटीमा सिरिङ हुने समस्या बढी हुन्छ । दाँत सिरिङ हुने समस्याले जीवन दुःखदायी बनाउँछ । तातो, चिसो, गुलियो र अमिलो खाँदा दुख्ने तथा कष्ट हुने भएकाले, खाने तथा पिउने आनन्द पाउन सक्दैन । त्यसैगरी, दाँत सफा गर्ने काममा बाधा पर्दा तथा ब्रस नगर्दा फोहोर कुरा, दन्तलेउ जम्मा भई सेन्सिटिभिटी बढाउँछ । यसले दाँत सड्न, गिजासम्बन्धी रोग, पाइरिया र शरीरमा विभिन्न रोग निम्त्याउँछ ।
ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्टम खिइएर डेन्टिन देखिने अवस्था एब्रेजन अमेरिकामा ८–३० प्रतिशतमा देखिएको छ । नेपालमा आधिकारिक आँकडा नभए पनि ११ सय ५० वटा स्वास्थ्य शिविर, अस्पताल तथा चिकित्सालयमा बिरामी हेर्दाको अनुभवअनुसार करिब ३५ देखि ५५ प्रतिशतमा पाइएको छ ।
डा. प्रकाश बुढाथोकी वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन, वीर अस्पताल
Comments
Post a Comment