ओडारका चेपाङहरूको कथा
ओडारका चेपाङहरूको कथा
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
माघ १, २०७३- ओडारको बास, कीरा– फटयाङ्ग्रा, सर्प र बिच्छी खाएर जीवन धान्ने चेपाङ समुदायको दयनीय अवस्था वृत्तचित्रमा देखेपछि एकजना दर्शकले भने, ‘नेपालमा यस्तो पनि हुन्छ ? यस्तो त नेसनल जोग्राफिक च्यानलमा मात्र देख्न पाइन्थ्यो ।’
धरानमा जारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन सञ्चारकर्मी अखण्ड भण्डारी निर्देशित ‘द केभ स्माइल’ (ओडारको मुस्कान) ले धेरैको आँखा खोल्यो । २५ मिनेटको उक्त वृत्तचित्रमा चितवन, गोरखा र धादिङको पहाडी जंगलको ओडारमा बसेका चेपाङ समुदायको जीवन शैलीलाई अथ्र्याउने प्रयास गरिएको छ ।
मिडिया, सञ्चार प्रविधिमा विकास आए पनि चेपाङ समुदायको यस्तो दयनीय अवस्थाबारे कमै पढ्न, सुन्न र देख्न पाइएको बेला भण्डारीले नजिकै पुगेर चेपाङ समुदायको वास्तविक दयनीय भोगाइका बीच निश्कलंक हाँसोलाई विषय बनाएका छन् । लेखन भण्डारीकै रहेको उक्त वृत्तचित्रले सीमान्तकृत ७० हजार चेपाङ समुदायका लगि राज्यले केही पनि गरेको रहेनछ भन्ने बुझ्न सघाउँछ ।
प्रदर्शनीको अर्को प्रस्तुति थियो, भारतका सिर्जन नन्दनको ‘स्याडोज अन द रोड’, जसमा दिल्लीमा सडकछेउ बसेर जीवन गुजारा गर्नेहरूको कथा देखाइएको थियो । सिरिया युद्धपछि टर्कीमा पुगेका युद्ध र द्वन्द्वपीडित बालबालिकाको अढाइ मिनेटको कथा पनि मार्मिक थियो । उक्त अवसरमा क्युबाका इरेन गुटिरेजको ‘होटल नुएभा इस्ला,’ हिमग्याप तासीको ‘भीमदत्त’ पनि देखाइए ।
चलचित्र प्रदर्शनीसँगै मास्टर क्लास कार्यक्रममार्फत बेइजिङ फिल्म एकेडेमीका प्राध्यापक सी फेईले चिनियाँ चलचित्रको विगत र वर्तमानका आयामबारे व्याख्या गरे । ‘राजनीतिक व्यवस्थाले नियन्त्रित अवस्थामा पनि राम्रा फिल्म कसरी बनाउन सकिन्छ भन्ने उदाहरण चिनियाँ चलचित्रले देखाएको छ ।’ चीनका प्रसिद्ध निर्देशक झाङ यी मुकासमेत गुरु रहेका उनले सबै चलचित्र पैसा कमाउनका लागि नबन्ने उल्लेख गर्दै थपे, ‘कलात्मक चलचित्र युगयुगसम्म बाँच्न सक्छ ।
त्यस्तो चलचित्रले दिने सन्तुष्टि पैसाले दिएको भन्दा कैयौं गुणा बढी हुन्छ ।’
यसअघि चलचित्र र राजनीति विषयमा अन्तरक्रिया गरिएको थियो । संगीतकार/कलाकारसमेत रहेका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मणि थापाले पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म नेपालका चलचित्रहरू बुर्जुवा शैलीमा मात्र बनेको बताए । ‘पछिल्लो राजनीतिक परिवर्तनमा पनि राजनीतिज्ञले चलचित्रलाई बुझ्न सकेनन्,’ उनले भने, ‘चलचित्रको सकारात्मक पाटोलाई सदुपयोग गर्न चुकेका छन् ।’
नेपाली चलचित्रका गुरु मानिएका लक्ष्मीनाथ शर्माले संसारभरि चलचित्रहरू राजनीतिसँग कतै न कतै जोडिने बताए । उनले चलचित्रले पनि सशक्त विचार व्यक्त गर्ने भएकाले राम्रा चलचित्रकर्मीले कलासँगै मनोरञ्जन, शिक्षा र चेतनाको सन्देश दिन भुल्न नहुने सुनाए ।
Comments
Post a Comment